२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ११ महिना अगाडि

दमक/ रङ्गेली चलिचित्र यसै साता हेर्ने मौका मिल्यो । डिम्याक्स दमकमा दर्शकहरुको सामान्य चाप रहेको थियो । राजनीतिक आड र प्रहरी प्रशासनसंग कसरी मिलेमतोमा लागु औषध तथा नक्कली नोटको कारोबार हुन्छ भन्ने देखाइएको रहेछ ।

डर र शक्तिको खेलमा वफादार साथी, वफादार सहयोगी, असल र खराब नियतका प्रहरी अधिकारी, नैतिकतासहितका र नैतिक पतन भएका नेता, सोझा जनता, प्रेममा धोका सबै चरित्रहरू एकपछि अर्को गर्दै भित्रिन्छन्। वफादारी र महत्त्वाकांक्षाको साथ प्रभुत्व खोज्ने निर्दयी प्रतिद्वन्द्वीसम्म, प्रत्येक पात्रले कथामा तहहरू थपेको छ र आफूलाई पृथक् बनाउने प्रयास गरेको छ।

सबै पात्रको संवादमा पूर्वी नेपालको मोरङ जिल्लाको रङ्गेली क्षेत्र वरपर बोलिने स्थानीय भाषालाई आत्मसात् गरेको देखिन्छ । पहिलो हाल्फसंग अलि अल्छिलाग्दो भएपनि त्यसपछि भने अल्छि लाग्न छाड्छ । एकपछि अर्को रहस्यहरु खुल्दैजान्छन् ।

‘रङ्गेली’ मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।